अलकायदाका नाइके विनलदेन लाई गोली हानी मारीयो

काबुल -अफगानिस्तान)-, वैशाख २० - दस वर्ष अमेरिकाको 'मस्ट वान्टेड' मा रहेका विश्व आतंकवादी संगठन अलकायदाका संस्थापक तथा नाइके ओसामा बिन लादेन अमेरिकी सेनाको विशेष टुकडीको कारबाहीमा परी पाकिस्तानको एक सहरमा मारिएका छन् ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबार राष्ट्रको नाममा गरेको सम्बोधनमा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका हुन् । पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ८० किलोमिटर उत्तरमा रहेको अब्बोत्तवाद सहरमा आइतबार राति भएको कारबाहीमा लादेन मारिएका हुन् । ओबामाले लादेनको मृत्युबाट विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए... 


पनि सफलता हात लागेको टिप्पणी गरे ।लादेन २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कस्थित टि्वन टावरलगायत दुई अरू ठाउँमा गरिएको आतंकवादी हमलाका प्रमुख योजनाकार थिए । उक्त हमलामा ३ हजारभन्दा बढी अमेरिकीहरूको ज्यान गएको थियो । अमेरिकी जलसेनाको नेभी सिल-६ नामक विशेष टुकडीले चारवटा हेलिकप्टरका साथ बिन लादेन रहेको घरमा मध्यरातमा आक्रमण गरेको जनाइएको छ । 

बिन लादेनले प्रत्याक्रमणको प्रयास गरेपछि उनलाई गोली हानी मारिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणका बेला लादेन उच्चमध्यम वर्गीय र प्रायः सैन्य परिवार बस्ने क्षेत्रस्थित एक घरमा रहेको जनाइएको छ । उनको घर १८ फिटको पर्खालले घेरिएको र छिमेकका घरहरूको तुलनामा आठ गुणा ठूलो रहेको बताइएको छ । त्यहाँ फोन र इन्टरनेट सुविधा नरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणका क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भए पनि कोही हताहत नभएको जनाइएको छ । आक्रमणमा लादेनसहित अरू तीन जना मारिएका छन् । मानव ढालका रूपमा प्रयोग गरिएकी बिन लादेनकी पत्नीमध्ये एक पनि मारिएकी छन् ।
लादेनको शव इस्लामिक परम्पराअनुसार समुद्रमा अन्त्येष्टि गरिएको सुरक्षास्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाए पनि यसको स्वतन्त्र पुष्टि भएको छैन ।लादेन मारिएको खबर आएको केही घन्टामै अफगान राष्ट्रपति हमिद कारजाईले उनको मृत्यु 'आफ्नै कर्तुतका कारण' भएको टिप्पणी गरे । तालिवान शासनकालमा लादेनले तालिवानलाई भरपूर आर्थिक, सैन्य र प्राविधिक सहयोग दिएका थिए । कारजाईले तालिवानलाई लादेनको घटनाबाट पाठ सिक्न आग्रह गर्दै शान्ति प्रक्रियामा आउन आग्रह पनि गरे । 

पाकिस्तानप्रति तिक्तता पोख्दै उनले भने, 'हामीले त भनेकै हौं नि । अफगानिस्तान आतंकवादको अखडा नभएको आजको घटनाले पुष्टि गरेको छ ।' अबदेखि नेटोलाई अफगान घरआँगनमा आतंकवादविरुद्ध युद्धको अधिकार नभएको पनि उनले बताए ।लादेन सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा थिए । यहाँबाट उनले अलकायदा सञ्जाल विश्वभर पुर्‍याउन सफल भएका थिए । २००१ मा अमेरिकामा गरिएको आक्रमणको योजना पनि अफगानिस्तानमै बनाएको बताइन्छ ।सीआईएले वषौर्ंसम्म उनको पिछा गरेको र कमसेकम आधा दर्जन पटक उनीमाथि कारबाही प्रयास भएको अमेरिकी पत्रकार स्टिभकोलले पुलित्जर पुरस्कार विजयी 'गोस्ट वार' किताबमा लेखेका छन् । तालिवानले अलकायदा र ओसामा बिन लादेनलाई सहयोग गरेको र सुरक्षित ठाउँ दिएको भन्दै अमेरिकाले आफूमाथि आतंकवादी हमला भएको दुई महिनापछि नोभेम्बर २००१ मा तालिवानविरुद्ध युद्ध छेडेको थियो । तालिवान सुरुमा परास्त भए पनि २००५ पछि फेरि विद्रोहमा उत्रेको थियो । गत वर्ष युद्ध सुरु भएपछिको सबैभन्दा हिंसात्मक वर्ष रह्यो, जसमा ७ सय अन्तर्राष्ट्रिय सैनिक मारिए । दुवै पक्षबाट गरी २ हजार ७ सय अफगानीको मृत्यु भएको थियो ।अफगानिस्तानमा हाल झन्डै १ लाख ४० हजार अन्तर्राष्ट्रिय सेना तैनाथ छन् । तीमध्ये दुई तिहाई अमेरिकी हुन् । अफगानिस्तानका लागि अमेरिकी राजदूतले लादेनको मृत्यु आतंकवादविरुद्ध युद्धको अन्त्य नभएको बताए । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि अफगानिस्तानमा तालिवानविरुद्धको लडाइँ नसिद्धिने बताएकी छन् ।युद्धपरस्त अफगानीहरू हरेक सन्दर्भमा विभाजित छन् । लादेनको मृत्युको खबरप्रति पनि उनीहरू विभाजित देखिए । कतिपय अफगानी सडकमा अमेरिकी सेनालाई गाली गर्दै हिँडेको देखिए भने कतिले अब मुलुकमा केही शान्ति होला कि भन्ने आस गरे ।काबुलका किराना पसले सायद जब्बरले भने, 'अब हाम्रो देशमा शान्ति आउँछ कि भन्ने आस छ ।' पाकिस्तानी सिमाना जलालावादका अब्दुल गफुरले भने लादेनको मृत्युले दुःख लागेको बताए ।

'आखिर जे भए पनि मुस्लिम हुन् । अमेरिकी हैकमविरुद्ध उभिएका थिए,' अर्का एक हैदर सिकन्दरले भने, 'अझ बढी आत्मघाती आक्रमण हुने पो डर छ । तालिवानले यसै सन्दर्भलाई उचालेर झन् विध्वंस मच्चाउने हुन् कि ?'तालिवान शासनकालमा पाकिस्तानका लागि राजदूत भएका अब्दुल सलाम जाइफले भने, 'जिहादमा कोही बाँच्छ भने सफल ठहरिन्छ तर यदि कोही मर्छ भने साँच्चै बिजेता भएर निस्किन्छ । हरेक जिहादी सहिद अमर हुन्छ ।'तैपनि यो घटनाले अफगानिस्तानमा भइरहेको युद्धमा कुनै फरक नल्याउने उनले फोनमा बताए । जिहादी वेबसाइटहरूले लादेनको मृत्युको बदला लिने घोषणा गरे पनि अलकायदाबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।तालिवानले पनि यसमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि केही तालिवान नेताहरूले भने यसले अफगान युद्धमा केही फरक नपर्ने बताए । उत्तरी कुन्दुज प्रान्तका एक तालिवान सहायक कमान्डरले यस संवाददातासँगको कुराकानीमा भने, 'हामी दुःखित छौं तर सहिद हुनु आदरणीय कुरा हो । त्यसैले हामी खुसी पनि छौं । खालि हाम्रो शंका अब महान् नेताको अनुपस्थितिमा के हुन्छ भन्ने हो । हामी जिहादलाई कायमै राख्छौं ।'अफगान विश्लेषक हारुन मिरका अनुसार लादेन आउनुअघि अफगानिस्तानमा आत्मघाती आक्रमणको रेकर्ड थिएन । 'आफगानी राष्ट्रिय नेता अहमद शाह मसुद उनकै अलकायदाको अरब जिहादी आत्मघातीको आक्रमणमा मारिएका थिए, जसको नेतृत्वको अभाव अझै पूरा हुन सकेको छैन,' उनले भने, 'ओसामा बिन लादेनले अफगानिस्तानलाई दुःख र विध्वंस दिए । उनको तालिवानप्रतिको समर्थनले अफगानिस्तानलाई अप्ठ्यारोमा धकेल्यो । पाकिस्तानमा रहेको आतंकवादी संगठनको समाप्तिबिना अफगानिस्तानमा शान्ति प्रक्रिया सम्भव छैन ।'

अफगानिस्तानको पूर्वी र दक्षिणको हजारौं किमि सिमाना पाकिस्तानसाग जोडिएको छ । दक्षिणको कान्दाहारर हेन्मान्ड प्रान्तहरूमा नेटोले केही सफलता हासिल गरेको भए तापनि उक्त सफलता क्षणिक रहेको सैन्य अधिकारी बताउाछन् । पाकिस्तानको क्वेर्टा सहर, वाजिरिस्तान र बालुचिस्तानमा संघर्षरत तालिवान नेताहरू रहेको जनाइएको छ र तर यसलाई पाकिस्तानले इन्कार गर्दै आएको छ ।

लादेन पाकिस्तानमा मारिएपछि तनावमा रहेको अमेरिका-अफगानिस्तान सम्बन्ध अब कता जान्छ भन्ने प्रश्न उब्जिएको छ । यसै वर्ष जुलाईमा सुरु हुने सुरक्षा कार्यभार हस्तान्तरण सन् २०१४ मा सम्पूर्ण रूपले अफगान सुरक्षा निकायहरूले लिनेछन् । तर उनीहरूको कार्यक्षमताबारे धेरैको शंका छ । गत महिना मात्रै काबुलस्थित रक्षा मन्त्रालयभित्रै तालिवानका एक आत्मघातीले आक्रमण गर्दा तीन सैनिकको मृत्यु भयो । पूर्वाद्ध कुनार र नुरिस्तान प्रान्तमा अलकायदाको संगठन अझै रहेको र तालिवान बलियो रहेको समाचार विगत केही महिनामा बाहिर आएका छन् ।

अफगानिस्तानमा संघर्षतमध्ये एक हर्कानी सञ्जालको बलियो संगठन छ, जसको अलकायदासाग 'कायदाको सम्बन्ध' रहेको जानकारहरू बताउँछन् । हारुन मिर भन्छन्, 'यिनीहरू अतिवादी हुन् । मर्न डराउन्नन्् । अझ आफ्ना नेता मारिएको बदला लिन ठूलै काण्ड गर्न सक्छन् ।' हतोत्साही भएर पनि यदि अलकायदाको सांगठनिक नेतृत्व भंग गर्न सकिएन र आर्थिक सञ्जाल भत्काउन सकिएन भने लादेनको मृत्युले केही हुन्न,' उनी भन्छन्, 'सबै कुरा अब पाकिस्तानमा गएर ठोकिन्छ ।' स्रोत: कान्तिपुर 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute