संविधानसभा प्रदर्शनका कारण सर्वसाधारणलाई सास्ती

संविधानसभा भवन बानेश्वर क्षेत्रमा विभिन्न समूहले गरेको प्रदर्शनका कारण सर्वसाधारणलाई सास्ती भएको छ । अत्यावश्यक कामले हिंडेका यात्रु घण्टौं जाममा परेका छन् । बानेश्वरको चारैतिरको सडक बन्द भएकाले भित्री सडक साना तथा ठूला सवारीले भरिएको छ । भित्री सडकमा जाम अत्याधिक छ ।बानेश्वरको पानी ट्याङ्कीबाट पुरानो वानेश्वर जाने बाटो, मीन भवनको ट्रली बस नजिकैको मूल सडक तथा मध्यवानेश्वर चोकबाट बबरमहल जाने मूल सडकमा भएको प्रदर्शनले सडक अस्त व्यस्त भएको हो । अध्याधिक सुरक्षाकर्मी परिचालन गरिए पनि थोरै संख्यामा रहेका व्यक्तिहरुको प्रदर्शनलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन...

।सार्वजानिक सवारी हनुमान, विजुली बजार पुल, एभरेस्ट होटल अघिबाट बानेश्वर आउन सकेका छैनन् । तीनकुनेबाट जाने सवारी ट्रली मीनभवनमै रोकिएको छ । उक्त क्षेत्रमा राप्रपा, जनजाति, दलित, पूर्व सांसद तथा महिलाको समूहले प्रदर्शन गरेको छ । प्रदर्शनबाट बच्न सवारीले भित्री बाटो प्रयोग गरेकाले शंखमुल, बानेश्वर तथा शान्तिनगर क्षेत्रका भित्री बाटा पनि जाममा परेका छन् । मोटरसाइकल, ट्याक्सी तथा साना सवारी भित्री बाटोमा अध्याधिक छन् ।

ट्राफिक प्रहरीका अनुसार उक्त वानेश्वर क्षेत्रमा मोटरसाइकललाई प्रवेश दिइए पनि सार्वजानिक यातायातलाई प्रवेश दिन समस्या छ । 'आन्दोलनका कारण सवारी र यात्रुको सुरक्षाका लागि यातायात त्यता नपठाएका हौँ', बानेश्वरमा खटिएका एक ट्राफिकले भने, 'हाम्रा लागि होइन, तपाइहरुकै सुरक्षाका लागि यसो गरिएको हो ।

बानेश्वरको मूल सडक बन्द भएपछि त्यसको प्रभाव सहरभरिका सडकमा परेको छ । बबरमहलबाट सवारी फर्काएकाले थापाथली क्षेत्रमा अत्याधिक जाम छ । प्रदर्शन सकिएपछि सवारी सूचारु हुने प्रहरीको भनाइ छ । काठमाडौं प्रशासनले संविधान सभा भवन वरपरको क्षेत्रमा प्रदर्शन निषेध गरेपछि प्रदर्शनकारीहरु जथाभावी प्रदर्शन गरिरहेका छन् ।

सवारी चालक तथा पैदल यात्रु आक्रोशित छन् । उनीहरुले प्रर्दनकारी तथा राजनीतिक दलका नेताहरुको आलोचना गरे । 'आफूले पनि केही गरेनन्, हामीलाई पनि गरिखान नदिने भए', एक जना चालकले भने, 'प्रदर्शन एक ठाउमा गरेर काम गर्नेलाई गरिखान दिनु पर्छ ।' स्रोत: कान्तिपुर 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute