प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिए

२९ साउन-आफ्नै पार्टी एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को दबाब थेगिरहेका प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएका छन् । दिउँसो आफ्नै अध्यक्षतामा बसेको एमाले केन्द्रीय समिति बैठकमा तत्कालै राजीनामा दिने घोषणा गरेर आएका खनालले राति राष्ट्रपति डा. रामवरण यादवसमक्ष राजीनामा बुझाए ।प्रधानमन्त्री खनालले सोमबार बस्ने व्यवस्थापिका संसद्को बैठकमा शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने तथा नयाँ संविधान निर्माणका विषयमा आफूले गरेको पहल र दलहरूबाट भएको असहयोगबारे जानकारी गराउने छन् । 'मैले भोलि (सोमबार) संसद्मा बोल्छु, तपाईंहरू सुन्नका लागि तम्तयार रहनुहोस्...


राष्ट्रपतिलाई राजीनामा बुझाएर फर्किंदा प्रधानमन्त्री खनालले पत्रकारलाई छोटो प्रतिक्रिया दिए ।शान्तिप्रक्रियाका मूलभूत विषयमा प्रगति हुन नसके २८ साउनभित्रै राजीनामा दिने घोषणा प्रधानमन्त्री खनालले गरेका थिए । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका लागि उनले अन्तिम समयसम्म पहल गरेका थिए । त्यसबारे आफ्नो प्रस्ताव उनले प्रमुख तीन दलसमक्ष पनि राखेका थिए । तर, कुनै प्रगति हुन नसकेपछि आफैँले तोकेको समयसीमाभन्दा एक दिन ढिलो गरी उनले राजीनामा दिए ।

शनिबारमात्रै खनालले सोमबार बस्ने संसद् बैठकमा राजीनामा गर्ने घोषणा गरेका थिए । आइतबार बिहान आफ्नै निवास बालुवाटारमा बोलाएको तीन दल र मधेसी मोर्चासितको छलफलमा पनि त्यही संकेत गरेका थिए । राष्ट्रिय सहमति बनाउन उनले बैठकमा अन्तिम प्रयास गरेका थिए । तर, दिउँसो बसेको एमाले केन्द्रीय समितिको बैठकमा चर्को आलोचना भएपछि बैठकको समापन गर्दै उनी आइतबार नै राजीनामा दिने घोषणा गरेर फर्किए । 

एमाले बैठकपछि पनि उनले बालुवाटारमा माओवादी र कांग्रेसका शीर्ष नेताहरूसित छलफल गरे । छलफलमा उनले 'शान्ति र संविधानका पक्षमा अथक प्रयास गर्दा पनि प्रगति हुन नसकेकाले राजीनामा दिने निर्णय लिएको' जानकारी गराएका थिए । 'तीन दलको बैठकमा प्रधानमन्त्रीले एमाले केन्द्रीय कमिटीको बैठकमा आफूले राजीनामा दिने घोषणा गरेर आएको जानकारी गराए,' साँझको तीन दलको बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । 
तीन दलको छलफल सकेर प्रधानमन्त्री खनाल राजीनामा दिन प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वाला र प्रेस सल्लाहकार थापासहित राति करिब ८ः२५ मा राष्ट्रपति भवन पुगेका थिए । झन्डै २० मिनेट राष्ट्रपति यादवसित छलफल गरेर उनी शीतलनिवासबाट फर्किएका थिए । जाँदा र आउँदा हसिलो मुहारमै देखिएका उनले पत्रकारसित भने लामो कुरा गरेनन् । 

प्रेस सल्लाहकार थापाका अनुसार राजीनामासँगै प्रधानमन्त्री खनालले शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनबारे आफूले गरेको पहलका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । 'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि आफूले गरेको पहलबारे जानकारी गराउनुभयो, राष्ट्रपतिले उहाँलाई हालसम्म गरेका कामका लागि धन्यवाद दिनुभयो,' सल्लाहकार थापाले भने ।

गत वर्षको २० माघमा व्यवस्थापिका संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका खनालले शान्ति र संविधान आफ्नो अर्जुनदृष्टि भएको बताउँदै आएका थिए । तर, शान्ति र संविधान निर्माणका कामहरूमा भने उनले कुनै प्रगति गर्न सकेनन् । बरु, पार्टीभित्रै र बाहिरबाट उनी विवादमा पर्दै गएका थिए । संसद्को सबैभन्दा ठूलो दल माओवादीको उनलाई समर्थन रहेको थियो । शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा प्रधानमन्त्री खनालले पछिल्लोपटक तोकेको समयसीमाभित्र माओवादी स्पष्ट नभएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । 

राजीनामा दिए पनि उनी नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा कामचलाउ सरकारको नेतृत्व गरिरहने छन् । अन्तरिम संविधानको धारा ३८ को -९) मा 'अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने' व्यवस्था छ । राष्ट्रपति कार्यालयले पनि खनालले राजीनामा दिएको औपचारिक जानकारी दिएको छ । 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute