माओवादी जोड्तोडका साथ बहुमतीय सरकार बनाउने शुरमा

५ भदौ-राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना लगभग सकिएको विश्लेषण गर्दै माओवादीले मधेसवादी र साना दलको समर्थन जुटाएर बहुमतीय सरकार बनाउने गृहकार्य थालेको छ । थपेको तीन दिनमा पनि सहमतीय सरकार बन्ने सम्भावना नदेखेपछि माओवादीले आफ्नै नेतृत्वमा बहुमतीय सरकारको कसरत थालेको हो ।शान्तिप्रक्रियामा सहमति जुटाएर बुहमतीय सरकारलाई पनि सहमतिको स्वरूप दिने माओवादी तयारी छ । शान्तिप्रक्रियामा सहमति जुटाउने र आफ्नो नेतृत्वको सरकारलाई बाहिरबाट भए पनि समर्थन गर्न कांग्रेस र एमालेलाई आग्रह गर्ने माओवादी योजना छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...


सहमतीय सरकार निर्माणका लागि थपिएको तीन दिनमा शान्तिप्रक्रियामा सहमति जुट्ने र त्यसपछि आफ्नो पार्टीको नेतृत्वमा बहुमतीय सरकार बन्ने बताएका छन् । माओवादीले लचकता प्रदर्शन गरेर शान्तिप्रक्रियामा सहमति जुटे पनि सहमतीय सरकार बन्ने सम्भावना कम रहेको प्रचण्डको भनाइ छ । 'सहमतिको सरकार निर्माण गर्न सजिलो छैन, सरकार निर्माणमा सहमति बन्न सक्ने अवस्था छैन, तर शान्ति र संविधान निर्माण प्रक्रियामा सहमति बन्छ र बहुमतीय प्रक्रियाबाटै सहमतिको सरकार बन्छ,' प्रचण्डले सोमबार पत्रकारहरूसँग भने ।

माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार डा. बाबुराम भट्टराईले सोमबार मात्र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका थिए । यसअघि माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गरेको थियो । दुई सय ३७ सभासद् रहेको माओवादीलाई बहुमतीय सरकारका लागि थप ६४ सभासद्को खाँचो हुन्छ । मधेसी दलसँग ८२ सभासद् छन् । 

'माओवादी नेतृत्वको सरकार बन्छ, त्यो सहमतीय पनि हुन सक्छ, बहुमतीय पनि हुन सक्छ,' माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले भने, 'बहुमत त हुन्छ नै, त्यसलाई सहमतीय बनाउने हाम्रो प्रयत्न हुन्छ ।'हतियार नबुझाएसम्म माओवादीको नेतृत्व स्वीकार नगर्ने अडान लिँदै आएकाले कांग्रेसलाई माओवादी नेतृत्वको सरकारमा सहभागी बन्न गाह्रो हुने भएकाले सहमतीय सरकारको सम्भावना कमजोर बनेको प्रचण्डको भनाइ थियो । हतियार बुझाउनुपर्छ भन्ने कांग्रेसको शब्दावलीप्रति नै आफूहरूको असहमति रहेको प्रचण्डले बताए । 'हतियार बुझाउने होइन, पुनस्र्थापना र समायोजनबाट टुंग्याउने हो,' उनले भने । 

कांग्रेस सभापति सुशील कोइरालासँग आफूले आइतबार कुराकानी गरेको र बहुमतीय सरकारलाई सहमतिमा रूपान्तरण गर्ने सभापति कोइराला सकारात्मक रहेको प्रचण्डको भनाइ थियो । बहुमतीय प्रक्रियाबाट सरकार भए पनि सबै दलले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रचण्डले विश्वास गरे । उनले माओवादी उम्मेदवार डा. बाबुराम भट्टराईको नेतृत्वमा बहुमतीय सरकार बन्ने दाबी गरे । 'अब भट्टराई प्रधानमन्त्री बन्नेमा म ढुक्क छु ।' 

प्रचण्डले आफू तीन दिनभित्र पनि सहमतिको सरकार निर्माणमा लाग्ने पनि बताए । सबै राजनीतिक दलहरूलाई सहमतिको आवश्यकता बोध भएकाले सबैले आ-आफ्नो ठाँउबाट त्याग गरेर सहमति निर्माणमा भूमिका खेल्नुपर्ने भन्दै प्रचण्डले सहमति 'मेरो गोरुको बाह्रै टक्का' भन्न नहुने बताए । प्रचण्डले लडाकु समायोजनको संख्या, पुनस्र्थापना प्याकेज, मोडालिटी र दर्जामा दलहरू करिब करिब सहमतिमा पुगिसकेकाले अबका तीन दिनमा सहमति बन्ने बताए । प्रचण्डले कांग्रेस र एमालेसहितका दलले अधिकतमा ६ र माओवादीले न्यूनतम आठ हजार सेना समायोजन हुनुपर्ने अडान राखे पनि त्यसको बीचमा सहमति बन्ने विश्वास व्यक्त गरे । प्रचण्डले पुनस्र्थापना प्याकेज र नेपाली सेनाको महानिर्देशनालय मातहतमा समायोजन गर्ने विषयमा दलहरूबीच विमति नरहेको पनि बताए । 

दर्जामिलानमा शिविरमा रहेका केन्द्रीय तहका नेताहरूलाई राज्यले सम्मानपूर्वक बाहिर ल्याए दर्जाको विवाद पनि टुंगिने प्रचण्डको विश्वास छ । 'हामि शान्तिप्रक्रियामा लचिलो भएर प्रस्तुत भएका छौँ । सहमति बने एक महिनाभित्र रिगु्रपिङको काम सकेर देखाइदिन्छौँ, आइतबारसम्मको छलफल सकारात्मक भएको छ ,तीन दिनमा सहमति बन्न सक्छ,' प्रचण्डले भने । स्रोत: नयाँ पत्रीका 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute