‘रअ’को निर्देशनमा काम गरेको भनाइमा प्रचन्डको आक्रोस

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भारतीय गुप्तर संस्था ‘रअ’ का प्रतिनिधि भेटेको र उसैको निर्देशनमा काम गरेको भन्ने महासचिव रामबहादुर थापा ‘वादल’ को आरोपप्रति आपत्ति जनाउनुभएको छ ।पार्टी कार्यक्रममा सहभागी हुन आउने क्रममा आज बिहान बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । चितवनको भरतपुरमा उपाध्यक्ष मोहन वैद्य समूहका कार्यकर्ताको गोप्य भेलामा वादलले आइतबार सिलुगुढीमा रअका मान्छे भेटेर फर्किएपछि प्रचण्डले पाँचहजार लडाकु समायोजनको कुरा गरेको आरोप लगाउनुभएको... 


थियो । आफू ‘रअ’को निर्देशनमा हिँडेको भन्ने आरोपमा तर्कहीन भएको प्रचण्डको भनाइ थियो । प्रचण्डले आफूले रअको निर्देशनमा काम गरे नगरेको निष्कर्ष निकाल्ने अधिकार नेपाली जनतामा मात्र रहेको टिप्पणी गर्नुभयो । 

सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उहाँले भारतसँग भएको बिपा सम्झौताबारे भोलि पार्टीको स्थायी समिति बैठक बोलाएर विस्तृत जानकारी लिने र त्यस पछिमात्र आधिकारिक धारणा बाहिर ल्याउने बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिलाई स्वाभाविक रहेको भनेका प्रचण्डले हाल जारी विवादले पार्टी भने कुनै पनि हालतमा नफुट्ने जिकिर गर्नुभयो । 

उहाँ नेपाल सम्बत, तिहार, छठ र बकरइदका अवसरमा माओवादी भोजपुरा राज्य समितिले आयोजना गरेको सार्वजनिक चियापान समारोहमा सहभागी हुन वीरगञ्ज आउनुभएको हो । प्रचण्डसँगै सचिव सिपी गजुरेल र स्थायी कमिटी सदस्य एवम् मधेस व्यरो इन्चार्ज गिरिराजमणि पोखरेल पनि वीरगञ्ज आइपुग्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डको भ्रमणलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले वीरगञ्ज नगरको सुरक्षा व्यवस्था कडा बनाएको छ । चियापान कार्यक्रमस्थल घण्टाघर चोकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै उहाँ बस्नुभएको होटल मकालु आसपास क्षेत्रमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । स्रोत: अनलाइन खबर 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute