लुम्बिनी विकासका लागि नेतृत्व गर्न बान की मुन तयार

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन बृहत्तर लुम्बिनी विकासका लागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न तयार भएका छन् । सरकारको तर्फबाट बृहत्तर लुम्बिनी विकास राष्ट्रिय परियोजनाका संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राति राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा अन्तर्राष्ट्रिय समितिको संयोजक बन्न आग्रह गरेका थिए ।'लुम्बिनीको बृहतर विकासका लागि बन्ने लुम्बिनी विकास अन्तर्राष्ट्रिय निर्देशक समितिको संयोजक बन्न अध्यक्ष प्रचण्डले राख्नुभएको प्रस्ताव महासचिव मुनले स्वीकार गर्नुभएको छ,' मुन-प्रचण्ड भेटपछि प्रचण्डसँग कुराकानी गरेका माओवादी... 


पोलिटब्युरो सदस्य अग्नि सापकोटाले नयाँ पत्रिकासँग भने, 'नेपाल भ्रमणका लागि अध्यक्षले गरेको प्रस्ताव पनि महासचिवले स्वीकार गर्नुभएको छ ।'

प्र्रचण्डलाई उद्धृत गर्दै माओवादी नेता सापकोटाले बताएअनुसार महासचिव बान माघको अन्त्यतिर वा फागुनको पहिलो साता नेपाल भ्रमणमा आउनेछन् । भ्रमणका क्रममा काठमाडौं र लुम्बिनीमा गरी दुईवटा कार्यक्रम गरिने र त्यसको नेतृत्व वानले गर्ने पनि सापकोटाले जानकारी दिए । 

प्रचण्डले बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको र त्यसका लागि राष्ट्रसंघको सहयोगको खाँचो रहेको बानसँगको भेटमा बताएका थिए । कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर बृहत् लुम्बिनी विकासका लागि नयाँ गुरुयोजना ल्याउने पनि उनले जानकारी गराएका थिए । 

प्रचण्डले लुम्बिनी विकासबारे छलफल गर्न सन् २०१२ को सुरुमा नेपालमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिने जानकारी गराउँदै त्यसमा सहभागी हुन बानलाई निम्तो दिएका छन् । बानले प्रचण्डको निम्तो स्वीकार गर्दै लुम्बिनीको बृहत्तर विकासका लागि आफूले राजनीतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि माओवादी नेता सापकोटाले जानकारी दिए । 

महासचिव वानसँगको भेटमा लुम्बिनी विकास राष्ट्रिय समितिका सदस्य डा. मीनेन्द्र रिजाल, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य, समितिका सदस्य मनोजबहादुर श्रेष्ठ तथा लुम्बिनी विकास कोषका अन्तर्राष्ट्रिय सल्लाहकार नोरितादा मोरितालगायत सहभागी थिए । सरकारले प्रचण्डको नेतृत्वमा केही समयअघि लुम्बिनी विकास राष्ट्रिय समिति निर्देशक समिति बनाएको थियो ।

प्रचण्ड एसियन प्यासिफिक एन्ड एक्सचेन्ज कोअपरेसन फाउन्डेसन (एपेक) को सह-अध्यक्षसमेत छन् । फाउन्डेसनले गौतम बुद्धको जन्मस्थलको विकासमा दुई खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ । तर, यसप्रति विभिन्न पक्षले आशंका गरेका छन् । स्रोत: नयपत्रीका 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute