''पार्टीले तपाईंहरूका दुइटै हातमा सुनौलो लड्डु राखिदिएको छ, समायोजन या स्वैच्छिक जे रोजे पनि भविष्य उज्ज्वल छ। स्वैच्छिक रोज्नेहरू रकम लिएर पार्टीमा जोडिनु हुनेछ, समायोजनमा जानेहरू तालिमतिर व्यस्त हुनुहुनेछ। त्यसैले ढुक्क हुनोस्, पार्टीले जे नीति ल्याउछ हाम्रै हितका लागि ल्याउनेछ।"रोल्पाको मंगलसेन स्मृति बि्रगेडका सहायक कमान्डर दीपेन्द्र शाह 'युगान्त' लडाकूलाई पार्टीको केन्द्रीय नीति सम्प्रेषण गररिहेका थिए। सल्लाघारीभित्र बनाइएको समथर मैदानमा एकत्रित लडाकूलाई उनी समायोजन प्रक्रिया ठीक हो भनेर विश्वस्त पार्दै थिए। त्यो आश्वासन उनको बोलीमा मात्र सीमित देखिन्थ्यो किनभने अहिलेको प्रक्रियाप्रति...
उनी पनि ढुक्क थिएनन्। नेपाल संवाददातासँग उनी भन्दै थिए, "शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भनेरै समायोजनमा फाराम भरियो तर आफ्नै जीवन भने अनिर्णयको बन्दी भइरहेको छ।" आफूभन्दा कनिष्ठ लडाकूलाई आशाका किरण देखाउनु दीपेन्द्रजस्ता कमान्डरहरूको बाध्यता पनि हो।
उनी पनि ढुक्क थिएनन्। नेपाल संवाददातासँग उनी भन्दै थिए, "शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भनेरै समायोजनमा फाराम भरियो तर आफ्नै जीवन भने अनिर्णयको बन्दी भइरहेको छ।" आफूभन्दा कनिष्ठ लडाकूलाई आशाका किरण देखाउनु दीपेन्द्रजस्ता कमान्डरहरूको बाध्यता पनि हो।
झन्डै ७५ वटा मोर्चामा लडाइँका प्रत्यक्ष अनुभव सँगालेका ३१ बर्षिय दीपेन्द्रले आफ्नो भविष्यमा कालो बादल मात्र देखिरहेका छन्, अझै चाँदीको घेरा खुल्ने कुनै संकेत पाएका छैनन्। समायोजनमा जाउ, शैक्षिक योग्यता पुग्दैन। राजनीतिमा फर्किउ, धरातल नै ध्वस्त भइसकेको छ। अहिलेको हैसियत अनुसार उनी नेपाली सेनाको वाहिनीपति हुन् तर राजनीतिक दलहरूबीच भएको सातबुँदे सहमतिलाई स्वीकार्ने हो भने उनलाई लेफ्टिनेन्ट हुन पनि गाह्रो छ। किनभने, उनी माओवादीमा लाग्दा १० कक्षामा पढ्दै थिए। शान्ति प्रक्रियामा आएपछि अस्थायी शिविरबाटै उनले एसएलसी उत्तीर्ण गरे, जस अनुसार उनी लेफ्टिनेन्टभन्दा माथि पुग्ने हैसियत राख्दैनन्।
दीपेन्द्रजस्ता शैक्षिक मापदण्ड नपुगेका लडाकू कमान्डरहरू सयौँ छन्। वर्गीकरणमा जानुअघि आन्तरकि प्रशिक्षण गर्न रोल्पा पुगेका माओवादी लडाकू प्रमुख नन्दकिशोर पुनले शैक्षिक योग्यता र र्यांकको विषयमा राजनीतिक निर्णय हुने आश्वासन बाँडेका थिए। त्यसले अधिकांश कमान्डरको मनमा थोरै भए पनि मलम लागेको थियो। मंसिर अन्तिम साता वर्गीकरण प्रक्रिया सकिसकेपछि हेलिकप्टरबाट रोल्पाको दहवन शिविरमा ओर्लिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ०५२ सालयता नेपाली सेनामा भर्ती भएका अधिकृतको बढुवाका आधारमा पद मिलान हुने बताए। उनको भनाइले धेरै कमान्डरको मनमा ढ्यांग्रो ठोकियो। पाँचाँै डिभिजन मुख्यालय रहेको दहवन प्रशिक्षणमा प्रचण्डले डिभिजन सहायक कमान्डरभन्दा माथिको हकमा राजनीतिक नियुक्ति गर्नेतिर प्रयास भइरहेको सान्त्वना दिए। तर, उनीसँगै दहवन पुगेका सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले लडाकूहरूकै माझमा सञ्चारकर्मीसित मापदण्डलाई लत्याएर कुनै पनि राजनीतिक नियुक्ति हुनै नसक्ने दाबी गरेपछि प्रचण्डको बोली तत्काल खण्डित भयो।
दहवनको प्रशिक्षणमा प्रचण्डले कमान्डरहरूलाई तीनदेखि चार पद तल रहेर समायोजनमा जाने मनस्थिति बनाउन निर्देशन दिएका थिए। उनले यति भन्न भ्याए, "शान्ति प्रक्रियालाई टुंग्याई देशमा निकास ल्याउनका लागि समायोजनमा जान्छु भन्नेहरू नपर्न पनि सक्छन्, जान्न भन्नेहरू पनि पर्न सक्छन्।" यस बोलीले कमान्डरमाझ थप अन्योल पैदा गर्यो। ०५२ सालदेखि माओवादीमा लागेकाहरू अहिले डिभिजन कमान्डर र डिभिजन सहायक कमान्डरसम्म पुगेका छन्। ०५२ सालमा नेपाली सेनामा भर्ती भएका सेकेन्ड लेफ्टिनेन्टचाहिँ मेजरसम्म मात्र पुगेका छन्। यी सबै कुराको गणितीय लेखाजोखा गरेपछि कमान्डरहरू आफ्नो भविष्यबारे रनभुल्लमा परेका छन्।