संचार मन्त्री भ्रष्टाचारीः संचार मन्त्री जयप्रकाश गुप्ताले भ्रष्टाचार गरेको प्रमाणित

मधेस राजनीतिका एक चतुर खेलाडी सूचना तथा सञ्चार मन्त्री जय प्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको छ ।चार वर्षदेखि सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले अन्तिम फैसला सुनाएको हो । नेपालमा बहालावाला मन्त्री जेल गएको यो पहिलो घटना हो ।'प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई एक वर्ष ६ महिना कैद हुने ठहर भएकाले निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसेको दिन कटाई बाँकी कैदको लगत कसी कानुन बमोजिम...


असुल गर्नु गराउनु,' सर्वोच्चको फैसलामा भनिएको छ, 'विशेष अदालत काठमाडौंको फैसला उल्टी भई प्रत्यक्षी प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई रु ८४,०९,९२८।०७ जरिवाना हुने ठहर भएको हुँदा निजलाई लागेको उक्त जरिवानाको लगत कसी असुल उपर गरी सर्वसञ्चित कोषमा दाखिला गर्न जेथा जमानतको विवरणसहित काठमाडौं जिल्ला अदालतमा लगत दिनू ।'

पुस २५ गते हुने भनी एक महिनाअघि नै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले फैसलाको मिति पुस २६ गते तोके पनि 'फैसलाको पूर्ण पाठ तयार गर्न नभ्याइएको' भन्दै फागुनमा सारिएको हो । फैसला नजिक पुग्दा गुप्ता भने विवादित बनिरहेका थिए ।

२०६४ कात्तिक २२ गते सर्वोच्च आइपुगेको गुप्ताको मुद्दा पहिलो दुई वर्ष तारेखमै राखिएको थिएन । २०६६ असार २८ गतेबाट सुनुवाइका लागि पेसी चढाइए पनि त्यसको साढे दुई वर्षपछि मात्रै सुनुवाइ सकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो । विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

कांग्रेस राजनीति हुँदै मुलधारको राजनीति प्रवेश गरेका गुप्ता पछिल्लोपटक क्षेत्रीय (मधेस) राजनीतिमा सक्रिय थिए । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार उनी पटक-पटक गरी तीनपटक सञ्चार र एकपटक कृषि मन्त्री भएका थिए ।

भ्रष्टाचार ठहरेलगत्तै उनले मौखिकरुपमा आफूले राजीनामा दिएको बताएका छन् भने आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् । स्रोत: कान्तिपुर 


Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks
Namastesansarnews © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute